मगर भूम्हेँ (भूम्या) पर्व र के कसरी मनाउँछन् मगरहरु ?

 

लेखक:  बोम बहादुर घर्तीमगर(व्योम जी अवतार)

भूम्हेँ/भुमे/भूम्या

भूम्हेँ/ खास गरी दुई संक्रान्तिमा मनाइन्छ । भू अथवा बलको पूजा असार संक्रान्ति र म्हेँ अथवा आगोको पूजा उभौलीको अन्त्यसँगै उधौलीको सुरुवात साउने संक्रान्तिमा मनाइन्छ । त्यसैले नै साउने संक्रान्तिलाई राँके संक्रान्ति भन्ने गरेको पाइन्छ । भू -अर्थात बलको पूजा ग¥यो भने पहिरो जाँदैन भन्ने परम्परागत मान्यता तथा जनविश्वास छ भने म्हेँ अथवा आगोको पूजा गरी घाट, गंगा, खोला पार ग¥यो भने कालकुस्त भई ग्रह शान्ति हुन्छ, केही लाग्दैन भन्ने प्रचलन पनि छ । भूम्हेँलाई दुई भागमा अध्ययन गर्न सकिन्छ । अ) भू/बल/नाम्क आ) म्हेँ/तिवार/राँके अ) भू/बल/नाम्क भूम्हेँ पर्व मान्नका लागि विभिन्न चरणहरु पार गरेर एक वर्षमा भूम्हेँलाई सफल बनाइन्छ । तिनै चरणहरु निम्न प्रकार छन् ।

जुन यस प्रकार छन् । १) बाजा फुकाउने २) नाँच सिक्ने र गुरुबा गुरुमा छान्ने ३) फूल तिप्ने ४) फूल र न्याँहो गीत ५) पुजारी र वली पाठो ६) तामा खोसाल्ने ७) थान चोखाउने र घर लिप्ने ८) मुर्ला (पूजा गर्ने र नाच्नेमा बिचमा गाडने) ९) पूजा गर्ने १०) पाठा (मार) तान्ने ११) नामचुन १२) मुर्ला नुल्ने १३) ज्यासिने (एक पक्षले अर्को पक्षलाई भोज खुवाउने) १५) लोको/नोकोबाङगे (भूम्हेँ नाँच)
बाङ भनेको चउर हो र लोकोबाङ भनेको नाच्ने चउर हो । कतै नोकोबाङ पनि भन्ने गर्दछन् ।

अहिलको अवस्थामा भूम्हेँ नाँचको नाम नै लोकोबाङगेमा प्रचलित भएको छ । यो नाँच नाँचन महिला एक लाइन र पुरुष एक लाइन गरी दुई लाइनमा हुन्छन् । पुरुष भित्रपट्टी र महिला दाहिने पंक्तिमा हुन्छन् । मुर्लालाई बीचमा पर्ने गरी गोलाकार दाइनेबाट घुम्दै नाँच्दछन् । पुरुषहरु खुट्टामा पैजन, चौबन्दी, खाडी, लालपटुका, बाङ्ग्रा, टोपी, लगाई कोठीमोहरा भिरेर नाँच्दछन् भने महिला पनि त्यस्तै गुन्यू, चोली, पटुका, रुमाल, इत्यादि लगाई आफ्नो औकातले भ्याएको गरगहनाहरु लगाई पछ्यौरी लिएर नाँच्दछन् ।

 

मगरहरु प्रकृति धर्म मान्ने र उनीहरुको कला, संस्कृति पनि प्रकृतिसँगै गाँसिएको छ । किनकि लोकोबाङ्गे शब्द पनि प्रकृतिसँगै गाँसिएको छ । नाचको नाम मात्र लोकोबाङ्गे यसभित्र पनि विभिन्न प्रकृतिसँगै जोडिएको भूम्हेँ नाँचहरु छन् । केही नाँचहरु लोप हुँदै गइसकेका छन् भने ठाउँ अनुसार फरक फरक नाँचहरु छन् । खास गरी लोकोबाङ्गे नाँच बाइस चाला (ताल) हुन्छ भन्छन् अग्रज मगरहरु । जे भएपनि तिनिहरुलाई खोज्नु हामी सबैको दायित्व हो ।

ठाउँ अनुसारका केही लोकोबाङ्गे नाँचहरु यस प्रकार छन् ।१) सलामी २) नौबाङ्गे (गुरु चाला) ३) वै (व) तिने (तिप्ने) ४) दोरे ५) तीन पाइले ६) खरगै कोने ७) चौबाने ८) गाईदुहुने ९) सुर्तीबान
१०) कण्ड बसाल्ने ११) रिकुई झयाँई १२) पछ्यौँरा फाल्ने १३) सप्काउने १४) दल्कनी १५) खन्जनी १६) बटुवा चाला इत्यादि  आ) म्हेँ/तिवार/राँके मगरहरु वर्षमा दुई ऋतुहरु मान्ने गर्दछन् । साउने संक्रान्तिदेखि पुस मसान्तसम्मको अवधिलाई उँदेली (उधौली) र माघ संक्रान्तिदेखि असार मसान्तसम्मको अवधिलाई उँभेली (उभौली)का रुपमा मान्ने गरिन्छ ।

साउने संक्रान्तिमा आगोको पूजाका साथै उँभेलीको विदाइ र उँदेलीको स्वागतको रुपमा मानिन्छ । साउन एक गते घरहरु लिपपोत गरी भाडाकुडाहरु सफा सुघर गरी बेलुकीपख रोटी हाल्दछन् । घरको मुख्य पुरुष वा कन्या केटाले चार ओटा आगोको राँको बनाउँछन् । सबै तयार भइसकेपछि घरको बाहिर अग्लो ठाउँमा एउटा राँकोलाई बाड्दछन् । र, रोटी, र रक्सी चढाई तीन वटा राँकोलाई सल्काएर कराउँदै जति सकिन्छ उति टाढा फाल्दछन् । जति टाढा गयो उति ग्रहहरु शान्ति हुन्छन् भन्ने गर्दछन् ।

राँकोेहरुलाई तिनै दिशा उत्तर, पश्चिम र दक्षिणतिर फालिन्छ । कोही कोही अगुल्टो पनि फाल्ने गर्दछन् । यस्तो गर्नाले रोगव्यादि, ग्रहदशा लाग्दैन भन्ने परम्परागत मान्यता छ । राँको फाल्दा कोही कसरी कराउँछन् कोही कसरी तर धेरै जसो यसरी कराउँछन् । काना झे, दुन्डा झे, ……रुघा लैजाऊ, मुघा लैजाऊ, कालकुस्त नौग्रह तुरुन्तै गंगापारी लैजाऊ । यो एउटा मगरहरुको प्रकृतिप्रतिको समर्पण र पुर्खौदेखि सामाजिक संस्कार पनि हो । राँके तिवार भूम्हेँसँगै जोडिएकोले केही ठाउँमा साउने संक्रान्ति पश्चात भूम्हेँमा नाचिने नाचहरु पनि यसै संक्रान्तिसँगै गरिन्छ । एक वर्षको भूम्हेँको अन्त्य पनि यसै संक्रान्तिसँगै गरिन्छ । विशेषगरी रुकुमको तकसेरामा राँके जात्राका नामले मेला लाग्दछ भने रोल्पाको वा खोला र सेरम घुस्बाङमा राँकेतिवार रामको नामले मेलाहरु लाग्दछन् ।

 

तिवार ठाउँ अनुसार फरक फरक ढंगले मेलाहरु गरिन्छ । रुकुमको लुगुममा एउटा चौतारो छ जहाँ सबै मगर थरका झाँक्रीहरुले वर्षको पालोगरी एक एक पठाइन्छ । त्यसपछि जम्मा भएका झाँक्रीहरुले मेला बनाउँदछन् । यस मेलामा झाँक्रीहरुका सामान बोक्ने (चुन्मे अथवा झाँक्रीहरुका चेली बिहे गर्ने मान्छे)हरुले र गाउँका सबै उमेरका मान्छेहरु मिलेर ङन्तिराम (सिस्नु मेला) बनाउँछन् । सिस्नुलाई जसलाई पायो उसैलाई हान्छन् ।

साथै हिलोले छेपाछेप गरी हिलो मेला गर्ने चलन पनि छ । यो मेला रुकुमको मगर खाम बोल्ने समुदायमा गर्ने गरिन्छ । यसरी असार र साउनको संक्रान्तिहरुमा भूम्हेँ अथवा बन (नाम) जमिन र म्हेँ (आगो)को पूजा गरी एक वर्षको भूम्हेँ पर्वको अन्त्य गरिन्छ ।

 

नोट : सर्वाधिकार सुरक्षित हाम्रो फेसबूक पेज ‘जन्तरे online सेरोफेरो नेपाल’ (जोस) नेपाल डट कममा । तपाईहरु सँग पनि कुनै सुचना समाचार छन् भने हामीलाई hikamanroka@gmail.com मा पनि पठाउन सक्नु  हुनेछ । हामी तपाईकाे सुचना लेख समाचारलाई उचित स्थान दिनेछौं ।

 

Loading...
प्रकाशित मिति September 22, 2019